कार्तिक ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको ८ वटा पालिका मध्ये ४ वटा पालिकामा अहिले डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी र सोताङ गाउँपालिकामा हाल डेँगुका विरामी देखीएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका प्रमुख सुमन तिवारीका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा २ जना, थुलुङ दुधकोशी मा १ जना, नेचासल्यान गाउँपालिकामा २ जना र सोताङ गाउँपालिकामा २ जना गरि जम्मा ७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित सबैको लक्षण अनुसारको उपचार भइरहेको र अवस्था सामान्य रहेको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । डेङ्गु परिक्षण किट स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा पठाइसकिएकाले निरन्तर परिक्षण र उपचार भइरहेको समेत प्रमुख तिवारीको दावी छ ।
कतिपय पालिकाहरूले आफै किट खरिद गरेर पनि डेंगु परिक्षण गरिरहेका छन् भने कतिपय पालिकामा कार्यालयबाट पठाइएको किटबाट परिक्षण भइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोगबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभएको छ ।
विशेषगरि गर्मीयाममा र गर्मि हुने क्षेत्रहरूमा डेङ्गुको जोखिम हुने भएकाले यस्तो समयमा लामो बाहुला भएको कपडा लगाउन, लामखुट्टे बस्ने बासस्थानको खोजी खोजी नष्ट गर्न उहाँको अनुरोध छ ।
Discussion about this post