कार्तिक ७, सोलुखुम्बु । मौसममा सुधार आएसँगै हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न पर्यटकीय षेत्रमा पर्यटकको चहलपहल निकै बढेको छ । माथिल्लो पर्यटकीय क्षेत्र लुक्ला नाम्चे मात्रै नभएर तल्लो पर्यटकीय क्षेत्र पत्ताले, गौरीटाप लगायतका रमणीय क्षेत्र पनि पर्यटकले भरिभराउ हुन थालेका छन् । स्थलमार्गबाट जिल्ला भित्रिएका पर्यटक सोलुखुम्बुको पत्तालेबाट रमणीय दृष्यावलोकन गर्दै जिल्लाका अन्य पर्यटकीय क्षेत्र जाने गरेका छन् ।
देश बाहिरबाट होस देश भित्रैबाट पनि जिल्ला घुम्न स्थलमार्ग (सडक) हुँदै आउने पर्यटकहरुको जिल्ला घुम्ने पहिलो सुरुवात पत्तालेबाटै हुने गरेका छ । अहिले सोलुखुम्बुको पत्ताले क्षत्रका होटलहरू पर्यटकहरुकै कारण भरिभराउ हुने गरेका छन् । मौसम खुल्दा मनग्य हिम श्रीङ्खालाहरुको अवलोकन गर्न पाइने, सुन्दर वातावरणमा बस्न पाउने भएकाले पत्तालेमा पर्यटकहरुको चहलपहल निकै बढेको स्थानीय प्रकाश मगरले बताउनुभयो ।
पत्ताले क्षेत्रमा भएका शतप्रतिशत होटल तथा लजहरू मध्ये ८० प्रतिशत होटल लजहरू भरिभराउ भएको उहाँले बताउनुभयो । मङ्गलबार मात्रै १७ जना विदेशी पर्यटक पत्ताले नाका हुँदै जिल्ला भित्रिएका छन् ३ सय ८२ नेपाली पत्ताले नाकाबाट जिल्ला भित्रिएको पत्तालेका ट्राफिक प्रहरी जीवन बस्नेतले बताउनुभयो ।
मङ्गलबारमात्रै आन्तरिक र बाह्य पर्यटक गरि ५० जना बढी पत्ताले हुँदै गौरीटाप समेत घुम्न आएको गौरीटापका संरक्षक लौरेश्वरबाबाले बताउनुभयो । पर्यटक आउन थालेपछी बुधबार र बिहिबारकै लागी होटल समेत प्रि बुकिङ भइसकेको होटल व्यवसायीले बताएका छन् । पिएफसि किचेनका सञ्चालक मेलिना मगर भनिछन् “हाम्रो होटल अहिले व्यस्त छ, पर्यटकहरू आउनुहुन्छ । राम्रै चलिरहेको छ भन्नुपर्छ” ।
Discussion about this post