कार्तिक ६, सोलुखुम्बु । कोशी प्रदेश सरकारले बाढी पहिरोबाट पूर्वाधारमा भएको क्षति पुननिर्माण गर्न चालु वर्ष मन्त्रालयमा विनियोजन भएको बजेटबाट १० प्रतिशत रकम समर्पण गराउने भएको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपियाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री अधिकारीले कटौती गर्न नमिल्ने रकम बाहेक प्रदेश सरकार र वित्तीय समानीकरण अनुदान श्रोतमा चालु खर्च शीर्षकमा विनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो।
कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालालाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिनुभएको छ ।
Discussion about this post