कार्तिक ८, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै पूर्वाधार विकास मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो। तर, कांग्रेसले मन्त्री नपठाउँदा उक्त मन्त्रालय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै सम्हाल्दै आउनुभएको थियो । कांग्रेस भित्रको आन्तरिक किचलोका कारण स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री नियुक्त हुन नसक्दा प्रदेश सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन।
कांग्रेसको संस्थापन पक्ष इतरका नेता डा शेखर कोइराला पक्षको भागमा स्वास्थ्य मन्त्रालय परेको भए पनि डा. शेखर कोइरालाले दुई जना मन्त्री नभई सरकारमा कसैलाई नपठाउने अडान लिएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
यता नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश सरकारलाई पूर्णता दिनेबारेमा पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन् ।
Discussion about this post