कार्तिक १२, सोलुखुम्बु । तिहार नजिकिँदै गर्दा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भाइमसलाको व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइमसलाको प्याकेट दिने चलन छ ।
अहिले बजारमा भाइमसलाको व्यापार सामान्य बढे पनि तिहार शुरु हुने दिन देखि किनमेल गर्नेको घुइँचो नै लाग्ने व्यापारीले बताएका छन् । प्रनिसा किराना तथा कस्मेटिक पसल सल्लेरीका नौलि माया तामाङले तिहार नजिकिँदै गरेकाले पनि भाइमसलाको व्यापार बढ्दै गएको जानकारी दिनुभयो ।
भाइमसलाको मूल्य ५० देखि १०० रुपौँया सम्ममा बिक्री भइरहेको उहाँको भनाई छ । भाइमसला तिहारका बेला बढी बिक्री हुने हो, व्यापार बढ्दै गएको छ, तिहार आउन अझै केही दिन बाँकी रहेकाले थप व्यापार बढ्ने अनुमान गरिएको उहाँले बताउनुभएको छ ।
तिहारको भाइमसला किन्नु नै पर्ने र पछि भिडभाड हुने गरेकाले पनि सामान खरिद गरेको सल्लेरीका उर्मिला बस्नेतको उहाँको भनाई छ । नेपालमा उत्पादन नहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ ।
Discussion about this post