कार्तिक १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा खुल्ला रुपमा देउसी भैलो खेल्न पाइने भएको छ । देशभरका जिल्लामा देउसीभैलो खेल्नका लागी समयसीमा निर्धारण गरिरहँदा सोलुखुम्बुमा भने समयसीमा नताेकिएको हो ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु तिहार लक्षित सुरक्षा सूचनामा अन्य विभिन्न कृयाकलापमा मापदण्ड निर्धारण गरेपनि देउसीभैलो खेल्न भने खुल्ला छाडिएको हो । सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बुधबार एक सूचना जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यहरू गर्दा गुनासो रहित तवरले गर्न अनुरोध गर्दै समयसीमा निर्धारण भने नगरिएको हो । यस्तै प्रजिअ घिमिरेले पटका, झिरझिरे, भुइँचम्पा लगायतका विस्फोटक जन्य पदार्थ प्रयोग नगर्न अनुरोध गर्नुभएको छ ।
तिहारको नाममा मादक पदार्थ सेवन गरि सामाजिक शान्ति सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न, भिडभाडजन्य कृयाकलाप गरि सामाजिक अशान्ति नफैलाउन, कानून विपरितका जुवातास लगायत नखेल्न पनि प्रशासनले सूचनामा भनेको छ । प्रशासनले जारी गरेको मापदण्ड विपरीत गरिएको पाइएमा कानून बमाेजिम कारवाही गरिने पनि प्रजिअ घिमिरेले चेतावनी दिनुभएको छ ।
Discussion about this post