कार्तिक १९, सोलुखुम्बु । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए ।
यस्तै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसैबीच तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ । काठमाण्डौसहित तराई÷मधेसका जिल्लामा छठको तयारी शुरु भएको हो । गुह्येश्वरी मन्दिरमुनिको बाग्मती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ ।
विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिईन्छ ।
यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।
छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुलालगायत किनमेलका लागि जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
Discussion about this post