कार्तिक १९, सोलुखुम्बु । रुम्जाटार अस्पताल ओखलढुंगाको सामाजिक विभागमा ३ महिनामा ९४ जनाले सेवा लिएका छन । जिल्ला अस्पतालको सामाजिक सेवा ईकाई विभागमा श्रावण, भदौ र असोज महिनामा ९४ जनाले सेवा लिएका हुन ।
सेवा लिनेमा ४७ जना महिला र ४७ जना पुरुष रहेका छन जसमा सबै भन्दा धेरै ५१ जना गरीब, २४ जना जेष्ठनागरिक, ७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । त्यस्तै ७ जना कुपोषित बालबालिका, २ जना गरीब तथा असहाय, २ जना असहाय तथा महिला स्वास्थ्य स्वयं सेविका र १ जना थुनुवा बिरामी रहेका छन ।
सहुलिय सेवा पाए पछि गरीब असहाय बिरामीहरु खुशी भएको सामाजिक सेवा इकाई विभागका प्रमुख कल्पना सुनुवारले बताउनुभयो । कतिपय साधारण नागरिकहरु समेत सहुलियत सेवा लिन आउने गरेकोले उनीहरुको छानविन गरी बुझेर मात्रै दिने गरेको प्रमुख सुनुवारको भनाई छ ।
उहाँका अनुसार यस सेवा सञ्चालनका लागि सरकारले वार्षिक १६ लाख रुपैयाँ छुट्याउने गरेको छ । जसमा ३ जना कर्मचारीको तलव, तालिम, व्यवस्थापन यस भित्रै पर्दछ । दिनानुदिन सेवा लिने बिरामीहरुको संख्या बढ्दै जाँदा तोकिएको बजेटले सेवा दिन अपुग हुने गरेको प्रमुख सुनुवारको भनाई छ । यस अस्पतालमा सहुलियत सेवा २०८० साल फागुन देखि शुरु भएको हो ।
Discussion about this post