कार्तिक २४, सोलुखुम्बु । सोलुखुम्बुका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा किरा लागेपछि किसान चिन्तित बनेका हुन् । विगत केही बर्ष यता औंसाले जिल्लाका किसानहरुलाई सताउदै आएको छ ।
त्यही किराले सुन्तला नोक्सान गरेर किसानको आम्दानी पनि खोसेको छ । सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किराले सुन्तला झरेर बगैँचा भरिएको किसानहरुले बताएका छन् । दुधकोशी बहुउदेशीय फलफुल नर्सरी तथा उत्पादन फर्म थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ दिप्लीका संचालक युवराज राई सुन्तला विक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसो किराका कारण सुन्तला खस्न थालेपछि चिन्तित बनाएको बताउनुभयो ।
औंसाका कारण सुन्तला कम फलेको भन्दै यस बर्ष झनै चिन्ता बढेको बताउनुभयो । साउन र भदौमा विषादी प्रयोग गरेर केही जोगाइएको सुन्तला फेरि खस्न थालेको उहाँको गुनासो छ । उहाँले हाल ४५ रोपनी जग्गामा २ हजार २२ सय बोट सुन्तला लगाउनुभएको छ । ३ बर्ष अघि ५ लाख बढीको सुुन्तला ब्रिकी गर्दै आउनु भएका राईले गत बर्ष ३ लाखको हाराहारीमा मात्र बिक्री गर्नु भएको छ ।
जिल्लामा १२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदैँ आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको थुलुङ दुधकोशी, नेचासल्यान, माप्यदुधकोशी, सोताङ, महाकुलुङ लगायतका क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यहाँको सुन्तला स्वादिलो र रसिलो हुने भएपनि किराको प्रकोपबाट किसानहरु हैरानीमा परेका छन् ।
Discussion about this post