कार्तिक ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाकी बास्तोला सहित ३ जना ठगीको आरोपमा प्रकाउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रीतिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका –१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् । पक्राउ मध्ये सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ की प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोलकी शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोकका सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Discussion about this post