मंसिर १, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ३ दिने शिक्षकको पेशागत विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना, माप्य दुधकोशी गाउँपालिकाको समन्वय तथा सहकार्यमा विहिबारदेखि हिमालय माध्यमिक विद्यालय बासामा सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
तालिम सञ्चालनमा पालिका, अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक साझेदारी रहेको छ । तालिममा माप्यका २० वटा विद्यालय र पालिका मार्फत अन्य गरी ३९ विद्यालयका ७१ जना शिक्षक सहभागी भएका थिए । तालिम सामाजिक, प्रविधि, अंग्रेजी, गणित र विज्ञान विषयलाई समेटेर सञ्चालन गरिएको जनाइएको छ । तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गौरव राईले रीड नेपालको शैक्षिक क्षेत्रमा महत्तपूर्ण योगदान रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले शिक्षकहरुलाई प्रविधि संग अपडेट हुदै सिकेका सीप व्यवहारमा उतार्न समेत आग्रह गर्नुभएको छ । यस्तै रीड नेपालका शिक्षा विकास केशव देव गिरीले अहिलेको परिवेश शिक्षकको आवश्यकतालाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको बताउनुभएको छ । उहाँले विशेष गरी गणित विज्ञान र अंग्रेजी विषयको सिकाइ उपलब्धी निम्न भएकोले उक्त विषयहरुलाई फोकस गरेर तालिमको आयोजना गरेको र रीड नेपालको केन्द्रविन्दु बालबालिका रहेकोले सिकेको सिप बालबालिका सम्म पुगोस भनेर शिक्षकलाई तालिम दिएको उल्लेख गर्नुभएको छ ।
तालिममा लैंगिक समानता अपांगता तथा सामाजिक समावेशीकरण, बाल सुरक्षा, बालमैत्री शिक्षण विधि, लैंगिकमैत्री विद्यालय वातावरण निर्माण, पाठ्यक्रम पाठयोजना निर्माण र प्रभावकारी नियमित सिकाइ मूल्याङ्कन, आइ सी टी लगायतका विषयवस्तु समावेश गरिएको आयोजकले जनाएको छ । तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह , अर्पण रेग्मी, बासु वाग्ले विष्णु उपाध्याय , राजीव ढुंगाना लगायतले गर्नुभएको थियो । रीड नेपालले यही प्रकृतिको तालिम अन्य पालिकामा पनि सञ्चालन गर्ने जनाएको छ ।
Discussion about this post