मंसिर १७, सोलुखुम्बु । गुरुङ समुदायको पुर्ख्यौली पेशा व्यवसाय राडीपाखी बुन्ने व्यवसाय लोप हुँदै गएको छ । जनशक्ति अभावमा पछिल्लो केही वर्षयता राडीपाखी बुन्ने पेशा व्यवसाय लोप हुँदै गएको हो । युवाहरू वैदेशिक रोजगारीमा गएपछि भेडापालन गर्ने जनशक्ति नहुँदा भेडापालन सँगै राडीपाखी दुबै लोप हुँदै गएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका गुरुङ समुदायले पछिल्लो समय भेडापालन गर्न छाडिसकेका छन् ।
गुरुङहरूको पुर्ख्यौली पेशा भेडापालन, राडीपाखी अहिले क्रमशः कम हुँदै गएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ चुक्ली मैदलका खेम गुरुङ अहिले भेडाको उनबाट सामाग्रीको माग हुन थालेपनी व्यवसायीक रुपमा यसमा काम गर्ने जनशक्ति नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ । उहाँको घर अहिले यही राडीपाखी व्यवसायले चलिरहेको छ । तर हराउँदै गइरहेको भेडापालन र यससँग जोडिने अन्य पेसा व्यवसायप्रति कसैको चासो नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ । गुरुङ र उनकी श्रीमतीको मेहनतले उनीहरू अहिले राडीपाखी व्यवसायबाट राम्रै आम्दानी गरिरहेका छन् । गुरुङका बुबाले पहिला ४ सयको हाराहारीमा भेडापालन गरेका थिए ।
तर परिवारका सदस्यले यसमा भविष्य नदेखेर अन्य कामका सिलसिलामा मैदेल छाडेपछि उनीहरूका भेडा बिक्री गरेर घरमा चर्खा र उन राखेर राडीपाखी मात्रै बुनिरहेको बताएका छन् । गुरुङ दम्पत्तीले आफ्ना २ छोराछोरी काठमाण्डूमा यही पेशाबाट पढाउँदै आएका छन् । व्यवसयीक रुपमा प्रविधि भित्र्याएर गर्न सके यही व्यवसायले राम्रो आम्दानी दिने उनीहरूको भनाई छ । भेडाको उनबाट बुनेको राडीपाखी धार्मिक रूपले पनि निकै शुद्ध र उत्तम मानिन्छ । तर नेपाली समाजमा स्वदेशी उत्पादन प्रतिको चासो घट्दै जाँदा यसको उत्पादन र बजारीकरण दुवैमा चुनौति थपिंदै गएको छ ।
Discussion about this post